काठमाडौं । राज्यको लगानीमा अध्ययन बिदा लिएर सेवामा नफर्किने प्राध्यापकहरूविरुद्ध त्रिभुवन विश्वविद्यालयले थालेको अभियानबाट ठूलो रकम फिर्ता भएको छ। हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम असुल भइसकेको शिक्षा मन्त्रालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर विदेश गएका तर सेवामा नफर्किएका प्राध्यापकहरूबाट १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको हो ।

सहकुलपति तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले मन्त्रालय र त्रिभुवन विश्वविद्यालय को सक्रिय पहलमा उक्त रकम असुल भएको जानकारी दिएका हुन्। उनका अनुसार अध्ययन बिदाको सुविधा लिएर सेवामा नफर्किने प्रवृत्तिले सार्वजनिक स्रोतको दुरुपयोग हुनुका साथै विश्वविद्यालयलाई आर्थिक, शैक्षिक र नैतिक क्षति पुगेको थियो। मन्त्री पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र अनुशासन कायम गर्ने अभियानअन्तर्गत यो उपलब्धि हासिल भएको बताए। हाल पनि केही प्राध्यापकहरू रकम फिर्ता गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ।


अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने सुविधा भए पनि त्यसको दुरुपयोग भएको भन्दै सरकारले अब यस्ता गतिविधिमाथि थप निगरानी बढाउने शिक्षा मन्त्रालयले जनाएको छ ।