रोल्पा। रोल्पाको माडी गाउँपालिका–२ घर्ती गाउँस्थित व्याङखोलामा बोलेरो जिप सडकबाट करिब ६०० मिटर तल खस्दा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ।
बिहीबार बिहान ८ बजेतिर माडी गाउँपालिका–२ घर्ती गाउँको व्याङखोलास्थित सडकबाट बोलेरो जिप अनियन्त्रित भई करिब ६०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
मृतकहरूको पहिचान अझै खुल्न सकेको छैन। दुर्घटनाग्रस्त जीप भीरको गहिरो भागमा पुगेकाले नम्बरसमेत यकिन हुन नसकेको प्रहरीको भनाई छ । घटनाबारे थप जानकारी संकलन गर्न जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।
बोलेरोमा जस्ता पाता, पाइपलगायत निर्माण सामग्री लोड गरिएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






































