काठमाडौं । नेकपा एमालेको दुई दिने कार्यशाला कार्यक्रम केवल प्रशिक्षणमा सीमित रहेन, नेतृत्व र उत्तराधिकारको बहसले पनि उत्तिकै चर्चा पायो। अध्यक्ष केपी शर्मा ओलीले  ‘मर्ने छाँट छैन, झोला बीचमा फ्याँक्दिनँ’ भनेर दिएको अभिव्यक्तिपछि उपमहासचिव योगेश भट्टराईले सुनाएको एउटा पुरानो कथाले एमाले वृत्तमा नयाँ तरंग पैदा गरेको छ।

कार्यक्रममा ओलीले आफू नेतृत्वबाट हट्ने कुनै मनस्थिति नरहेको स्पष्ट संकेत दिए। उनले पार्टीलाई यहाँसम्म ल्याउन आफ्नो भूमिका रहेको स्मरण गराउँदै नेतृत्वविरुद्ध हुने गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे। तर ओलीको भाषण सकिएको केही घण्टामै योगेश भट्टराईको फेसबुकमा अर्को कथा देखा पर्‍यो। कथामा एक वृद्ध बसभित्रको डन्डी समातेर यात्रा गरिरहेका हुन्छन्। बस उकालो–ओरालो र घुम्तीमा हल्लिँदा उनी पनि डन्डी तान्दै–धकेल्दै गर्छन्। गन्तव्यमा पुगेपछि भने ती वृद्धले यात्रुलाई सुनाउँछन्- “मैले डन्डी नसमातेको भए बस पल्टिन्थ्यो, तपाईंहरू सबै मेरो कारणले बच्नुभयो।”

योगेशले नाम नलिई लेखेको यो कथालाई एमालेभित्र धेरैले सामान्य संयोग मानेका छैनन्। बरु नेतृत्वको योगदान र त्यसको व्याख्यालाई लिएर गरिएको सांकेतिक व्यङ्ग्यका रूपमा अर्थ्याउन थालेका छन्। एमालेमा केही समययता पुस्तान्तरण, नेतृत्व हस्तान्तरण र भावी नेतृत्वबारे बहस चलिरहेको छ। अध्यक्ष ओली भने अझै नेतृत्वको केन्द्रमै रहने संकेत दिइरहेका छन्। यता, दोस्रो पुस्ताका नेताहरूले प्रत्यक्ष होइन, संकेत र प्रतीकमार्फत आफ्ना धारणा राख्न थालेका छन्।

त्यसैले अहिले एमालेभित्र चर्चा न झोलाको छ, न बसको। चर्चा छ- कसलाई लक्षित गरेर कथा सुनाइयो र किन ठीक त्यही दिन सुनाइयो र? राजनीतिमा कहिलेकाहीँ भाषणभन्दा कथा धेरै बोल्ने गर्छ। बुधबार एमालेभित्र पनि यस्तै भयो। एकातिर नेतृत्व नछाड्ने सन्देश आयो, अर्कोतिर ‘बस जोगाउने बुढा’को कथा।