काठमाडौं । जनमत पार्टीका नेता डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर गम्भीर राजनीतिक आशंका व्यक्त गरेका छन्। उनले मधेशी नेतृत्वलाई कमजोर बनाउने पुरानै रणनीति फेरि सक्रिय भएको दाबी गर्दै वर्तमान प्रधानमन्त्री बालेन शाहलाई निशाना बनाउन र बालेनलाई कमजोर बनाउने खेल खेल्न रवि भारत गएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै राउतले नेपालको इतिहासमा कुनै पनि मधेशी नेतालाई बलियो राजनीतिक हैसियतमा टिक्न नदिइएको जिकिर गरेका छन्। उनले पार्टी विभाजन, बदनाम गर्ने अभियान, देशद्रोहीको आरोप, पक्राउ तथा विभिन्न राजनीतिक दबाबमार्फत मधेशी नेतृत्वलाई सधैं कमजोर बनाउने प्रयास भएको दाबी गरेका छन्।

राउतले अहिले पनि त्यही श्रृंखला दोहोरिन लागेको संकेत गर्दै एउटा मधेशी प्रधानमन्त्री स्थापित भइरहेका बेला उनको विकल्प खडा गर्ने र राजनीतिक रूपमा कमजोर पार्ने तयारी भइरहेको आरोप लगाएका छन्।

लामिछानेको भारत भ्रमणलाई उनले भव्य राजनीतिक माहोल सिर्जना गरेर नयाँ विकल्प निर्माण गर्ने तथा वर्तमान नेतृत्वको प्रभाव घटाउने प्रयास भइरहेको हुन सक्ने आशंका व्यक्त गरेका छन्।