काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद अब खुला संघर्षमा बदलिएको छ। महामन्त्री डा. धवलशम्शेर राणाले पार्टी नेतृत्वमाथि प्रहार गर्दै राप्रपाले आफ्नो राजनीतिक दिशा गुमाएको आरोप लगाएका छन्।
बुधबार सार्वजनिक वक्तव्यमा राणाले नेतृत्वको अदूरदर्शिता, निर्णय क्षमताको अभाव र संगठन सञ्चालनमा देखिएको कमजोरीका कारण पार्टी संकटमा फसेको दाबी गरेका छन्। उनले आफूले पटक–पटक दिएका सुझाव र चेतावनीलाई बेवास्ता गरिएको भन्दै नेतृत्वप्रति असन्तुष्टि पोखेका छन्।
राणाले नेतृत्वले आफ्ना असफलता लुकाउन आफूविरुद्ध भ्रम फैलाउने प्रयास गरेको आरोपसमेत लगाएका छन्। पार्टीभित्रको विश्वासको वातावरण समाप्त हुँदै गएको र कार्यकर्ताहरू निराश तथा अन्योलमा परेको उनको भनाइ छ।
उनले राप्रपाको वर्तमान अवस्थालाई गम्भीर राजनीतिक संकटको संज्ञा दिँदै अब नयाँ राष्ट्रवादी शक्तिको निर्माण अपरिहार्य भएको बताएका छन्। समान विचारधारा भएका व्यक्ति, समूह र अभियानहरूलाई एक ठाउँमा ल्याएर नयाँ राजनीतिक मोर्चा खडा गर्नुपर्ने उनको आह्वान छ।






































