काठमाडौं। जेन -जी आन्दोलनका बेलामा राष्ट्रपति कार्यालय शीतल निवासबाट हात्तीको दाह्रा चोरी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा गरेको अपरेशनमा हात्तीको दाह्रा लुकाइछिपाइ राख्ने तथा कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा काठमाडौंका राजिब महर्जन र आयुष महर्जन, गोरखाका टेकप्रसाद गुरुङ र सन्तबहादुर भुजेल तथा बैतडीका पुरन बोहरा रहेका छन्।प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मनमैजुस्थित एक खाली जग्गामा गाडेर राखिएको अवस्थामा हात्तीको दाह्रा फेला परेको थियो। त्यसपछि थप अनुसन्धान गर्दै अन्य व्यक्तिहरूलाई पनि पक्राउ गरिएको हो।
सन्तबहादुर भुजेलको कोठाबाट समेत थप दाह्रा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद भएका दाह्रा राष्ट्रपति कार्यालय शीतल निवासबाट भदौ २४ गते चोरी भएका दाह्रासँग सम्बन्धित रहेको प्रहरी स्रोतको दाबी छ। घटनामा संलग्नहरूविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा लागुऔषध सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले बरामद सामग्री र पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ। यस्तै प्रहरीले राजिब महर्जनको कोठामा ट्रामाडोल औषधि १५० वटा क्याप्सुल फेला पारेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।






































