काठमाडौं। एक महिना अघिसम्म जीवनका अनेक सपना बोकेर हिँडेका दुई युवा युवती।  आज भने जंगलको एकान्तमा निर्जीव अवस्थामा भेटिएका छन्। काभ्रेपलाञ्चोकको पाँचखालस्थित सामुदायिक वनमा सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव फेला परेपछि परिवार मात्रै होइन, सिंगो समाज स्तब्ध बनेको छ। हराएको खबरसँगै आशा बाँधेर बसेका आफन्तले अन्ततः मृत्युको पीडादायी खबर सुन्नुपर्‍यो।

पाँचखालको घना जंगल। जहाँ चराचुरुङ्गीको आवाजबाहेक अरू केही सुनिँदैन। त्यही जंगलको बीचमा रहेको मौवाको रुखले एक दर्दनाक कथा लुकाइरहेको थियो। बुधबार बिहान वनको अनुगमनमा निस्किएका स्थानीयले देखेको दृश्य हृदयविदारक थियो। एउटै रुखमा झुण्डिएका दुई शव। समयसँगै शरीर सडिसकेको, टाउको मात्र झुण्डिरहेको अवस्था। मृतक हुन् पर्साका शक्ति राम, जो सशस्त्र प्रहरी बलमा असई पदमा कार्यरत थिए। उनीसँगै कैलालीकी २६ वर्षीया शर्मिला चौधरी पनि मृत भेटिइन्।

दुवै जना करिब एक महिनाअघि सम्पर्कविहीन भएका थिए। परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। आफन्तहरू हरेक फोनको घण्टीसँग आशा जोडिरहेका थिए, कतै भेटिन्छन् कि भन्ने अपेक्षामा दिन गन्दै थिए। तर नियतिले अर्कै फैसला सुनायो।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार, राम सशस्त्र प्रहरी बल १५ नं हेडक्वाटर पाँचखालमा दरबन्दी भएका असई हुन् ।उनका अनुसार शवको अवस्था हेर्दा घटना धेरै दिन अघिको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलबाट बरामद कपडा र कागजातका आधारमा उनीहरूको पहिचान खुलेको हो।

शक्ति राम बिदामा घरबाट निस्किएका थिए भने शर्मिला उनलाई भेट्न भन्दै आफ्नो गन्तव्यतर्फ लागेकी थिइन्। त्यसपछि दुवैको मोबाइल बन्द भयो, सम्पर्क टुट्यो र अन्ततः जीवनकै डोरी पनि चुँडिएको अवस्थामा फेला परे।

घटनाको वास्तविक कारण अझै रहस्यकै घेरामा छ। यो प्रेमको दुःखान्त अन्त्य हो, कुनै दबाबको परिणाम हो वा अरू कुनै कारण ? यसको जवाफ अब अनुसन्धानले खोज्दैछ।यो खवर सुन्दा घरपरिवार मात्र होइन जो कोहीका आँखा रसाउँछन् । मृतक दुवैप्रति हार्दिक श्रद्धासुमन। स्वर्गमा बास होस। हामी यही कामना गछौ।