काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिमाथि कडा आपत्ति जनाएका छन्। सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले राष्ट्रहितविपरीत र असत्य कुरा गरेको आरोप लगाउँदै ओलीले संसद्को रोष्ट्रमबाट देशद्रोही अभिव्यक्ति आएको दाबी गरेका छन्।

काठमाडौंमा आयोजित एमालेको कार्यक्रममा बोल्दै केपी शर्मा ओली ले प्रधानमन्त्री बालेन्द्र शाह माथि सीधा निशाना साधे। उनले नेपालले भारतको एक इन्च भूमि पनि नमिचेको जिकिर गर्दै सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको बताए। ओलीले संसद्मा गरिएको सम्बोधनलाई लिएर प्रश्न उठाउँदै त्यस दिन प्रधानमन्त्रीले नेपालको हितमा बोले वा कसैको अर्को स्वार्थमा भन्ने प्रश्न गरे। दुई देशबीचको विषयलाई तेस्रो पक्षसँग जोड्नु कूटनीतिक अभ्यासविपरीत हुने उनको तर्क थियो।

यही क्रममा ओलीले प्रधानमन्त्रीलाई लक्षित गर्दै ‘नेपाल तपाईंको घरको सम्पत्ति होइन’ भन्दै टिप्पणी गरे। उनले नेपाल कुनै व्यक्तिको निजी सम्पत्ति नभई पुस्तौँदेखिको सार्वभौम राष्ट्र भएको उल्लेख गर्दै राष्ट्रिय विषयमा बोल्दा संयमता अपनाउन आग्रह गरे। सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरेका ओलीले वर्तमान सत्ता धेरै समय टिक्न नसक्ने दाबीसमेत गरे।

सीमा विवादको विषयलाई लिएर प्रधानमन्त्री र प्रमुख प्रतिपक्षबीचको वाकयुद्ध चर्किँदै गएको छ। ओलीको पछिल्लो अभिव्यक्तिले सत्ता र प्रतिपक्षबीचको राजनीतिक टकरावलाई थप तीव्र बनाएको देखिन्छ।