काठमाडौं । सर्वोच्च अदालतले रिक्त न्यायाधीश पदहरू कानूनले तोकेको समयभित्रै पूर्ति गर्न न्यायपरिषद्लाई निर्देशन दिएको छ। न्यायाधीश पद लामो समय खाली राख्ने प्रवृत्तिले न्याय सम्पादन प्रभावित हुने र न्यायपालिकामाथिको जनविश्वास कमजोर बन्न सक्ने सर्वोच्चको ठहर छ।
अधिवक्ताहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले संविधान र कानूनमा उल्लेख गरिएको समयसीमाको अनिवार्य पालना गर्नुपर्ने स्पष्ट पारेको हो। आदेश न्यायपरिषद्का अध्यक्ष समेत रहेका प्रधानन्यायाधीशसहित परिषद्का सबै सदस्यका लागि बाध्यकारी हुने उल्लेख गरिएको छ।
हाल सर्वोच्च अदालतमा तीन न्यायाधीशको पद रिक्त छ भने उच्च अदालतमा पनि मुख्य न्यायाधीश र न्यायाधीशका केही पद खाली रहेका छन्।


































