काठमाडौं। भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतिय प्रधानमन्त्री मोदीदेखि विदेशमन्त्री र गृहमन्त्रीसम्म भेटेपछि नेपाल–भारत राजनीतिक सम्बन्धमा नयाँ चर्चा सुरु भएको छ। सभापति लामिछानेले प्रधानमन्त्री मोदीसंग ‘वान टु वान’ वार्ता गरेका हुन्। पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलसहित र छुट्टै रूपमा पनि भेट गरेका हुन्।
भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लामिछानेसँगको भेट सुखद रहेको बताएका छन्। उनले नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउने तथा साझा समृद्धिका लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, सहकार्यलाई थप नजिकबाट अघि बढाउने लामिछानेको इच्छाको स्वागत र समर्थन गरेको उल्लेख गरेका छन्।
भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय साझेदारी तथा साझा हितका विविध विषयमा छलफल भएको जनाइएको छ। मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाललाई भारतको महत्वपूर्ण साझेदार राष्ट्रका रूपमा लिइएको पनि बताएका छन्।
भारत भ्रमणका क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि लामिछानेले भेटवार्ता गरेका छन्।। यसअघि उनलाई भारतीय जनता पार्टी (भाजपा) कार्यालयमा स्वागत गरिएको थियो।
रास्वपाका अनुसार भ्रमण टोलीमा लामिछानेसँगै निकिता पौडेल, सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।


































