काठमाडौं । लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली ले सरकार, प्रधानमन्त्री र राष्ट्रपतिमाथि एकैपटक आक्रामक प्रहार गरेका छन्। एमालेको सदस्यता नवीकरण तथा विस्तार कार्यशालालाई सम्बोधन गर्दै ओलीले सम्पत्ति छानबिन आयोग नमान्ने, बयान नदिने र सम्पत्ति विवरणसमेत नबुझाउने घोषणा गरे।
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई असंवैधानिक भन्दै ओलीले आफूलाई राजनीतिक प्रतिशोधको निशाना बनाउन आयोग खडा गरिएको आरोप लगाए। ‘आगो लगाएर खरानी बनाएको ठाउँमा सम्पत्ति विवरण माग्ने ? खरानी छ, उठाएर लैजा,’ भन्दै उनले सरकारलाई खुला चुनौती दिए।
ओली यतिमै रोकिएनन्। प्रधानमन्त्री बालेन्द्र शाह लाई लक्षित गर्दै संसद्को रोष्ट्रमबाट राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको आरोप लगाए। सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले ‘देशद्रोही’ र ‘अकूटनीतिक’ कुरा गरेको दाबी गर्दै देश कुनै व्यक्तिको निजी सम्पत्ति नभएको टिप्पणी गरे।
त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल को भूमिकामाथि पनि ओलीले प्रश्न उठाए। संविधानको रक्षा गर्नुपर्ने राष्ट्रपतिले ‘रबर स्टाम्प’को भूमिका निर्वाह गरेको आरोप लगाउँदै संविधानविपरीत निर्णयहरूमा हस्ताक्षर मात्रै गरिरहेको टिप्पणी गरे।
सरकारलाई प्रतिशोधको राजनीति त्याग्न चेतावनी दिँदै ओलीले एमाले कुनै दबाब, त्रास वा धम्कीबाट नझुक्ने बताए। उनले आफू बयान दिन नजाने, आयोग नमान्ने र सरकारले जे गर्न सक्छ त्यही गर्न चुनौती दिए।


































