एजेन्सी।। मध्यपूर्वमा फेरि युद्धको आगो भड्किएको छ। अमेरिका र इरानबीच शान्ति वार्ता चलिरहेका बेला दुवै पक्षबाट मिसाइल र ड्रोन आक्रमण भएपछि कूटनीतिक प्रयास गम्भीर संकटमा परेको छ। पछिल्लो सैन्य टकरावले क्षेत्रीय मात्र होइन, विश्व सुरक्षामै नयाँ चिन्ता थपेको छ। युद्ध रोक्ने प्रयास चलिरहेका बेला अमेरिका र इरान फेरि आमनेसामने उभिएका छन्।

अमेरिकी सेनाले इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनहरू खसालेको दाबी गर्दै स्ट्रेट अफ होर्मुज आसपासका रणनीतिक लक्ष्यहरूमा प्रतिआक्रमण गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानका आक्रमण प्रयासहरू विफल पार्नुका साथै केश्म टापुमा रहेका केही सैन्य संरचनामाथि कारबाही गरिएको हो।

तर इरान पनि पछि हटेको छैन। इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी कारबाहीको जवाफ दिइएको दाबी गर्दै अमेरिकी सैन्य उपस्थितिलाई निशाना बनाएको जनाएको छ। कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डातर्फ समेत मिसाइल प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यही तनावका बीच तीन महिनादेखि जारी शान्ति वार्ता लगभग ठप्प भएको छ। विशेषगरी इरानको आणविक कार्यक्रम, उच्च प्रशोधित युरेनियमको व्यवस्थापन र होर्मुज जलडमरूमध्यमा जहाज आवागमनको सुरक्षाबारे मतभेद झन् चर्किएको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तावित सम्झौताका केही बुँदामा संशोधन खोजेपछि वार्ताको वातावरण थप जटिल बनेको छ। विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने होर्मुज क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय बजार र विश्व अर्थतन्त्रमा समेत असर पार्न सक्ने विश्लेषण भइरहेको छ। युद्ध रोक्ने कूटनीतिक प्रयास जारी रहे पनि मैदानमा मिसाइल र ड्रोन बोलिरहेका छन्। अमेरिका र इरानबीचको पछिल्लो टकरावले शान्तिको सम्भावनाभन्दा संघर्षको जोखिम अझ बढाएको देखिन्छ।