काठमाडौं । वातावरणमैत्री यातायात र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यसहित विश्व साइकल दिवसका अवसरमा बुधबार काठमाडौंमा साइकल र्याली आयोजना गरिएको छ।
खुलामञ्चबाट सुरु भएको र्यालीमा सयौं साइकलप्रेमी सहभागी भएका थिए। नेपाल साइकल सोसाइटीको संयोजकत्वमा आयोजित कार्यक्रमले साइकललाई दिगो, सस्तो र स्वास्थ्यका लागि लाभदायक यातायातको माध्यमका रूपमा प्रवर्द्धन गर्ने सन्देश दिएको आयोजकले जनाएको छ।
र्यालीमा विभिन्न उमेर समूहका सहभागीहरू देखिएका थिए। कार्यक्रममार्फत सडक सुरक्षा, स्वच्छ वातावरण र नियमित शारीरिक अभ्यासका लागि साइकल प्रयोग बढाउनुपर्ने आवश्यकता औंल्याइएको थियो।
विश्वभर मनाइने यस दिवसका अवसरमा नेपालमा पनि साइकलमैत्री पूर्वाधार विकास, सुरक्षित सडक र हरित यातायातको पक्षमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।






































