सतिस पौडेल, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसदमा गरेको सीमा सम्बन्धी अभिव्यक्तिपछि भारतले पहिलो पटक आफ्नो धारणा सार्वजानिक गरेको छ । भारतले नेपालसँग बाँकी रहेका सीमा सम्बन्धी विषयहरू आपसी वार्ता र स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान हुने जनाएको हो । 

मंगलबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल ले नेपाल–भारत सीमाको अधिकांश भागको सीमांकन सम्पन्न भइसकेको उल्लेख गर्दै बाँकी रहेका केही मुद्दा पनि दुई देशबीचकै संवादबाट टुंगो लगाइने बताए।

उनले सीमा विवाद समाधानका लागि कुनै तेस्रो पक्षको आवश्यकता नरहेको स्पष्ट पारे। यो भनाइलाई प्रधानमन्त्री बालेनले संसदमा बेलायतसँग समेत कुराकानी भएको बताएका प्रसंगसँग जोडेर हेरिएको छ।

आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको दाबी गरेका थिए। साथै लिपुलेक, लिम्पियाधुरा र कालापानी विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको बताएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले नेपालमा राजनीतिक तरंग सिर्जना गरिरहेका बेला भारतले आफ्नो पुरानो अडान दोहोर्‍याएको हो। भारतको भनाइले सीमा सम्बन्धी विषयलाई द्विपक्षीय दायराभित्रै राख्न चाहेको बताएको छ।