काठमाडौं । नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग स्पष्ट धारणा माग गरेको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा प्रमुख सचेतक युवराज दुलाल ले प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाइ राष्ट्रिय हितसँग जोडिएको संवेदनशील विषय भएकाले रास्वपाले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन्।
दुलालले देशको शासन सञ्चालनको जिम्मेवारीमा रहेको दलका रूपमा रास्वपाले सीमा सम्बन्धी विषयमा आफ्नो स्पष्ट दृष्टिकोण संसद र जनतासामु राख्नुपर्ने बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे राजनीतिक तहमा गम्भीर छलफल आवश्यक रहेको उल्लेख गरे।
उनले प्रधानमन्त्रीको विवादित भनिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन तथा तथ्य र प्रमाणसहित पुनः स्पष्टिकरण दिनुपर्ने माग पनि गरे। सीमा सम्बन्धी विषयलाई राष्ट्रिय महत्वको मुद्दाका रूपमा लिएर समाधान खोज्नुपर्ने उनको भनाइ थियो।
सदनमा बोल्दै दुलालले विपक्षी दलहरूको उद्देश्य संसद अवरुद्ध गर्नु नभई राष्ट्रिय चासोको विषयमा स्पष्टता खोज्नु रहेको जिकिर गरे। आगामी बजेट कार्यान्वयनभन्दा पनि अहिले सीमा सम्बन्धी बहसलाई प्राथमिकताका साथ समाधान गर्नुपर्ने उनको धारणा थियो।






































