धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेका कमलबहादुर शाहविरुद्ध कांग्रेसभित्रै असन्तुष्ट समूह सक्रिय बनेको छ। कांग्रेस संसदीय दलका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले शाहलाई दलको नेताबाट हटाउने निर्णय गरेपछि प्रदेश राजनीतिमा नयाँ तरंग पैदा भएको छ।


९ जना प्रदेशसभा सदस्य सहभागी रहेको बैठकले संसदीय दलको विधानअनुसार नेतृत्व परिवर्तनका लागि आवश्यक संख्या पुगेको निष्कर्ष निकाल्दै निर्णय गरेको जनाएको छ। निर्णयमा हस्ताक्षर गर्ने सांसदहरूले आफूहरूले कुनै दबाब वा प्रभावबिना स्वेच्छाले समर्थन जनाएको दाबी गरेका छन्।