चितवन— अवैध क्रिप्टोकरेन्सी कारोबार तथा डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा चितवन प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको हंशपुर नगरपालिका–४ स्थायी घर भई भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा बस्दै आएका २९ वर्षीय डा. पप्पुकुमार यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा. यादवको कोठामा छापा मार्दा ३० हजार अमेरिकी डलर नगद र १७ थान मोबाइल फोन बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट उनी अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध सञ्चय तथा कारोबारमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले उनको मोबाइल तथा अन्य विद्युतीय उपकरणको परीक्षण गर्दा वाइनान्स र बाइविटलगायतका प्रतिबन्धित एपमार्फत क्रिप्टोकरेन्सी कारोबार सञ्चालन गरिरहेको फेला पारेको जनाएको छ।
भरतपुरस्थित एक अस्पतालमा कार्यरत डा. यादवले डिजिटल माध्यम प्रयोग गरी ठगीसमेत गरेको आशंका गरिएको छ। उनले हालसम्म कति व्यक्तिलाई ठगी गरेका छन् र कति रकम संकलन गरेका छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए।






































