काठमाडौं। नेपाली कांग्रेसको सदस्य बन्न चाहनेहरुका लागि अब पार्टी कार्यालय धाउनुपर्ने छैन। घरमै बसेर एक क्लिकमै आवेदन दिने व्यवस्था सुरु गरेको छ। नयाँ क्रियाशील सदस्यता अनलाइनबाट खुला भएपछि पार्टीले डिजिटल संगठन निर्माणतर्फ अर्को फड्को मारेको दाबी गरेको छ। कांग्रेसको यो निर्णय केवल सदस्यता वितरण मात्र नभएर पार्टी संगठनलाई ‘डिजिटल ट्र्याक’मा लैजाने अभियान का रूपमा संचालन गरेको जनाएको छ । 

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रिया औपचारिक रूपमा खुला गर्ने निर्णय गरेको हो। कांग्रेसका अनुसार नेपालको संविधान, पार्टी विधान, नियमावली र अनुशासनको पालना गर्ने प्रतिबद्धता जनाएका नागरिकले नयाँ सदस्यताका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ।

यसअघि सदस्यता प्रक्रियाका लागि कागजी प्रक्रिया र संगठनात्मक तहको दौडधुप आवश्यक पर्ने अवस्था थियो। अब भने डिजिटल प्रणालीमार्फत सदस्यता आवेदन सहज, छरितो र पारदर्शी बनाउने पार्टीको लक्ष्य छ।

पुराना सदस्यको सदस्यता अद्यावधिक अभियानलाई पनि निरन्तरता दिएको छ। पार्टीले यही महिनाको २१ गतेभित्र अद्यावधिकको काम सम्पन्न गर्ने लक्ष्य राखेको केन्द्रीय कार्यालय सानेपाले जनाएको छ ।