धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विकासको केन्द्रबिन्दु पूर्वाधार मात्रै होइन, रोजगारी, शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरणलाई पनि बनाएको छ।
प्रदेश प्रमुख नाजिर मियाँले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा दुर्गम बस्तीलाई सडक सञ्जालसँग जोड्ने, युवालाई प्रदेशमै रोजगारी सिर्जना गर्ने र सामाजिक क्षेत्रको सेवा सुधार गर्ने लक्ष्य अघि सारिएको छ।
सरकारले हालसम्म सडक पहुँच नपुगेका बाजुराको साइपाल, दार्चुलाको अपिहिमाल र बाजुराकै स्वामीकार्तिक खापर गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने प्रतिबद्धता जनाएको छ। साथै प्रदेश लोकमार्ग र सहायक सडकहरूको स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखिएको छ।
नीति तथा कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष युवा पलायन रोक्ने योजना हो। उत्पादन, उद्यमशीलता र सीप विकासमा आधारित कार्यक्रममार्फत युवालाई प्रदेशमै रोजगारी तथा स्वरोजगारका अवसर उपलब्ध गराउने सरकारको लक्ष्य छ।
गरिबी न्यूनीकरणका लागि अछाम, बैतडी र डोटीका विभिन्न स्थानीय तहमा लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ। शिक्षा, स्वास्थ्य र पोषणलाई एकीकृत रूपमा जोडेर गरिब समुदायमा केन्द्रित योजना कार्यान्वयन गरिने उल्लेख गरिएको छ।
पर्यटन, स्वास्थ्य सेवा विस्तार र प्रदेश गौरवका आयोजनाको निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता पनि नीति तथा कार्यक्रममा समेटिएको छ।




































