काठमाडौं। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरिरहेका नेविसंघका नेता–कार्यकर्ता पक्राउ परेपछि नेपाली कांग्रेस सरकारप्रति आक्रामक रूपमा प्रस्तुत भएको छ। कांग्रेसले शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूलाई पक्राउ गर्नु संविधानप्रदत्त अधिकारमाथिको हस्तक्षेप भएको आरोप लगाएको छ।

कांग्रेसका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण विरोध गरिरहेका नेविसंघका नेता–कार्यकर्तालाई पक्राउ गरिएको घटनालाई ‘अत्यन्त निन्दनीय’ भनिएको छ। पक्राउ पर्नेमा राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डे रहेका छन्। उनीहरू प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिविरुद्ध प्रदर्शनमा सहभागी थिए।

कांग्रेसले नागरिकलाई शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने संवैधानिक अधिकार रहेको स्मरण गराउँदै विद्यार्थी नेताहरूको गिरफ्तारीलाई लोकतान्त्रिक मूल्य र मान्यताविपरीत कदमका रूपमा चित्रण गरेको छ। विज्ञप्तिमार्फत कांग्रेसले पक्राउ परेका सबै विद्यार्थी नेताहरूलाई बिना शर्त तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ।