ललितपुर। बहुचर्चित ठगी प्रकरणमा पक्राउ परेकी ‘टिकटकर तुलसा कलेक्सन’ भनेर चिनिने तुल्सी अधिकारीको थुनछेक बहस सोमबार नसकिएपछि उनलाई पुनः प्रहरी हिरासतमा राखिएको छ।


जिल्ला अदालत ललितपुरमा सम्पत्ति शुद्धीकरण, ठगी तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा उपस्थित गराइएकी अधिकारीमाथिको बहस पूरा हुन नसकेपछि अदालतले मंगलबार पुनः उपस्थित गराउने गरी हिरासतमा राख्न अनुमति दिएको हो।  


तुल्सी अधिकारीविरुद्ध सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालकले ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप लगाउँदै जाहेरी दिएका थिए। उजुरीपछि उनी फरार भएकी थिइन्। नेपालबाट बाहिरिएर चीन हुँदै थाइल्याण्ड पुगेको सूचनापछि प्रहरीले इन्टरपोलको सहयोगमा खोजी अभियान चलाएको थियो।


गत शुक्रबार थाइल्याण्डमा पक्राउ परेकी अधिकारीलाई नेपाल ल्याएर कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर ललितपुरमार्फत अदालतमा पेश गरिएको हो। अब अदालतमा जारी थुनछेक बहसले उनी साधारण तारेखमा छुट्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि थुनामा जाने भन्ने विषय तय गर्नेछ।