काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण औपचारिक शिष्टाचारभन्दा माथिको राजनीतिक महत्व बोकेको देखिएको छ। दिल्ली पुगेका लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) का उच्च तहका नेताहरूले विमानस्थलमै स्वागत गरेका छन्।

पाँचदिने भ्रमणका लागि नयाँदिल्ली पुगेका लामिछानेलाई भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका हुन्। सामान्यतः विदेशी राजनीतिक दलका नेताहरूलाई विमानस्थलमै पार्टीको शीर्ष तहबाट स्वागत गरिनुलाई कूटनीतिक र राजनीतिक दृष्टिले अर्थपूर्ण मानिन्छ। भाजपा अध्यक्ष नीतिन नवीन को निमन्त्रणामा भारत पुगेका लामिछानेसँग उनकी पत्नी निकिता, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य पनि छन्।

रास्वपाका अनुसार भ्रमणका क्रममा लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन्। भारतीय सत्तारुढ दलका प्रभावशाली नेताहरूसँग हुने छलफललाई नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास र राजनीतिक सहकार्यसँग जोडेर हेरिएको छ। नेपालमा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राजनीतिक बहस चर्किरहेका बेला रविको भारत भ्रमणले थप चासो बटुलेको छ। विशेषगरी भारतीय राजनीतिक नेतृत्वसँगको भेटवार्ताले भ्रमणको राजनीतिक महत्व अझ बढाएको विश्लेषण भइरहेको छ।


रास्वपाले भने भ्रमणलाई दुई देशबीचको राजनीतिक संवाद, अनुभव आदानप्रदान र सम्बन्ध विस्तारको अवसरका रूपमा प्रस्तुत गरेको छ।