काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद चर्किएको छ। प्रधानमन्त्रीले संसद्मा “नेपालले पनि भारतीय सीमा मिचेको” भन्ने आशयको भनाइ राखेपछि त्यसको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार सिंहदरबारको मुख्य गेटअगाडि प्रदर्शन गरेको हो।
प्रदर्शनका क्रममा नेविसंघका नेता तथा कार्यकर्ताले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार र राष्ट्रिय हितविपरीत रहेको आरोप लगाउँदै नाराबाजी गरेका थिए। प्रदर्शन बढ्दै जाँदा प्रहरीले हस्तक्षेप गर्दै ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी नियन्त्रणमा पर्नेमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य राजकुमार बस्नेतसहित अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाखेती र गौरव पाण्डे रहेका छन्। उनीहरूलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएको छ।





































