काठमाडौं— चर्चित स्ट्राइकर लुइस सुआरेज बिना नै दुई पटकको पूर्व विजेता उरुग्वेले आगामी फिफा विश्वकप २०२६ का लागि आफ्नो आधिकारिक टोलीको घोषणा गरेको छ। 

प्रशिक्षक मार्सेलो वियल्साले फेडेरिको भाल्भर्डेको कप्तानीमा घोषणा गरेको टोलीमा युवा र अनुभवी खेलाडीहरूको मिश्रण रहेको छ । यस पटक टोलीको मुख्य जिम्मेवारी भाल्भर्डेको काँधमा सुम्पिइएको छ भने टोलीका अन्य प्रमुख खेलाडीहरूमा स्टार स्ट्राइकर डार्विन नुनेज, रक्षापंक्तिका खम्बा रोनाल्ड अरौजो, म्यानुअल उगार्टे, रोड्रिगो बेन्टानकुर, फाकुन्डो फेलेस्ट्री र जोसे मारिया जिमिनेज जस्ता विश्वप्रसिद्ध नामहरू समावेश छन् । बलियो टोली निर्माणका साथ मैदान उत्रने तयारीमा रहेको उरुग्वेले यसपटकको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

यद्यपि, टोली छनोटमा प्रशिक्षक वियल्साले चालेको एउटा कदमले फुटबल वृत्तमा निकै चर्चा र आश्चर्य पैदा गरेको छ । टोलीका ऐतिहासिक तथा भेट्रान स्ट्राइकर लुइस सुआरेज यसपटक प्रशिक्षकको रोजाइमा पर्न असफल भएका छन् । हाल अमेरिकी क्लब इन्टर मायमीबाट व्यावसायिक फुटबल खेलिरहेका ३९ वर्षीय सुआरेजलाई बाहिर राख्ने निर्णयसँगै उरुग्वेको टोलीमा एउटा सुनौलो युगको अन्त्य भएको संकेत मिलेको छ । प्रशिक्षक वियल्साले टोलीलाई युवा जोस र नयाँ रणनीतिका साथ अघि बढाउन सुआरेज जस्ता भेट्रान खेलाडीलाई विश्राम दिएको विश्लेषण गरिएको छ ।