काठमाडौँ । संसद् बैठक बस्नुअघि विपक्षी दलहरू रणनीति बनाउन एकै ठाउँमा जुटेका छन्।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार विपक्षी दलहरूको बैठक सुरु भएको हो। प्रतिनिधि सभामा आगामी दिनमा कसरी प्रस्तुत हुने र साझा धारणा कसरी बनाउने भन्ने विषयमा बैठक केन्द्रित रहेको बताइएको छ।

बैठकमा आइतबार राति विपक्षी दलहरूको असहमतिबीच सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधि सभा नियमावली पारित गरेको विषयमा पनि छलफल भइरहेको छ। विपक्षी दलहरूले उक्त प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

आजको संसद् बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रमुख एजेन्डा छ। उपप्रधान तथा अर्थमन्त्री स्वर्णिम वाग्ले ले जेठ १५ गते प्रस्तुत गरेको आय–व्यय विवरणमाथि सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको छ। बैठक दिउसो १ बजेका लागि बोलाईएको छ ।