काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले भारतीय जनता पार्टीका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस भ्रमणलाई रास्वपाको अन्तर्राष्ट्रिय राजनीतिक पहुँच विस्तारको प्रयासका रूपमा समेत हेरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार भारत प्रस्थान गरेका छन्। उनीसँग पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्यसमेत भारत गएका छन्। रास्वपाका अनुसार प्रतिनिधिमण्डल जेठ १८ देखि २२ गतेसम्म भारतमा रहनेछ। पार्टीले जारी गरेको विज्ञप्तिअनुसार नयाँदिल्लीमा सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ। विशेषगरी भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग छलफल हुने जनाइएको छ।


यसैबीच भारतमा बसोबास गरिरहेका नेपाली समुदाय, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग पनि भेटघाटको कार्यक्रम तय गरिएको छ। भ्रमणको अर्को विशेष पक्ष भनेको अयोध्याको भ्रमण हो। व्यक्तिगत भ्रमणका रूपमा अयोध्या पुग्ने कार्यक्रमसमेत समावेश गरिएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासले भ्रमणका क्रममा हुने विभिन्न उच्चस्तरीय कार्यक्रम व्यवस्थापन तथा समन्वयमा सहयोग गरिरहेको रास्वपाले जनाएको छ।


रोचक पक्ष के छ भने रास्वपाले औपचारिक जानकारी सार्वजनिक गर्नुअघि नै भारतीय जनता पार्टीले लामिछानेको भ्रमणबारे जानकारी सार्वजनिक गरेको थियो। भाजपाका अनुसार भ्रमणका क्रममा पार्टी अध्यक्ष जेपी नड्डा लगायत वरिष्ठ नेतासँग भेटवार्ता हुने कार्यक्रम छ। नयाँ दलका रूपमा उदाएको रास्वपाले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध विस्तार गर्न थालेको संकेत यस भ्रमणले दिएको छ।


नेपालको नयाँ राजनीतिक शक्तिका रूपमा स्थापित हुने प्रयासमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी का लागि यो भ्रमण केवल औपचारिक भेटघाटमा सीमित नरही राजनीतिक सञ्जाल विस्तारको अवसरका रूपमा समेत हेरिएको छ।