काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले संसद्भित्रको गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित संसदीय दलको कार्यसमितिलाई पूर्णता दिएको छ।
दलका नेता भीष्मराज आङ्देम्बे को नेतृत्वमा गठन गरिएको कार्यसमितिमा उपनेताको जिम्मेवारी अभिषेक प्रताप शाहले पाएका छन्। यस्तै, कोषाध्यक्षमा डा.शाहजान खातुन तथा सदस्य सचिवमा मदन कृष्ण श्रेष्ठ मनोनीत भएका छन्। १२ सदस्यीय कार्यसमितिमा हालसम्म ६ जना सदस्य थपिएका छन्। मनोनीत सदस्यहरूमा पवित्रा विक, कालीबहादुर सहकारी, रुक्मिणीदेवी कोइराला, जयपति रोकाय, हरिनादेवी कामी र सुशीला ढकाल आचार्य रहेका छन्।
कांग्रेस संसदीय दलका अनुसार कार्यसमितिका दुई सदस्य भने अझै मनोनयन हुन बाँकी छन्। पार्टीले संसदीय दलको बैठक सञ्चालन, नीति समन्वय तथा सदनमा पार्टीको भूमिकालाई थप सशक्त बनाउन कार्यसमितिलाई पूर्णता दिएको जनाएको छ। नयाँ कार्यसमिति गठनसँगै संसद्भित्र सरकारमाथि प्रभावकारी निगरानी र प्रतिपक्षी भूमिकालाई अझ धारिलो बनाउने कांग्रेसको तयारी रहेको छ ।






































