काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रथम महाधिवेशनको तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन १८ वटा उपसमिति गठन गरेको छ।

सोमबार बसेको सचिवालय बैठकले महाधिवेशनका विविध पक्षलाई व्यवस्थित गर्न जिम्मेवारी बाँडफाँटसहित उपसमितिहरू गठन गरेको हो। पार्टीले कार्यक्रम सञ्चालनदेखि आर्थिक व्यवस्थापन, सूचना प्रविधि, सुरक्षा, स्वास्थ्य सेवा, यातायात तथा आवास व्यवस्थापनसम्मका विषयलाई प्राथमिकतामा राख्दै छुट्टाछुट्टै संयन्त्र तयार गरेको जनाएको छ।

महाधिवेशनलाई व्यवस्थित, पारदर्शी र सहभागितामूलक बनाउन गुनासो व्यवस्थापन, कानुनी समन्वय, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा, अभिलेखीकरण तथा दस्तावेजीकरणलगायतका उपसमितिसमेत गठन गरिएको छ। यसले पार्टी महाधिवेशनलाई केवल औपचारिक कार्यक्रमभन्दा संस्थागत प्रक्रियालाई सुदृढ गर्ने अवसरका रूपमा लिइएको संकेत गरेको छ।

त्यस्तै प्रचार–प्रसार तथा सञ्चार समन्वय, सांस्कृतिक कार्यक्रम, अतिथि सत्कार र स्थानीय समन्वय सहकार्य उपसमितिको गठनले महाधिवेशनलाई व्यापक र व्यवस्थित बनाउन पार्टीले बहुआयामिक तयारी थालेको देखिन्छ।

रास्वपाले पहिलो महाधिवेशनलाई संगठन विस्तार, नीति निर्माण र आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय लिने मञ्चका रूपमा प्रस्तुत गर्दै तयारीलाई तीव्र बनाएको छ।

यस्ता छन् उपसमिति–

१.कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति 

२.गुनासो व्यवस्थापन उपसमिति

३.प्रतिवेदन तथा प्रस्ताव मस्यौदा उपसमिति

४.आर्थिक व्यवस्थापन उपसमिति

५.महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति 

६.कानुनी समन्वय उपसमिति

७.प्रचार प्रसार तथा सञ्चार समन्वय उपसमिति

८.सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति

९.सूचना प्रविधि उपसमिति

१०.आवास तथा भोजन व्यवस्थापन उपसमिति

११.अतिथि सत्कार उपसमिति

१२.हल तथा  मञ्च व्यवस्थापन उपसमिति

१३.स्वास्थ्य सेवा उपसमिति

१४.सांस्कृतिक कार्यक्रम उपसमिति

१५.यातायात व्यवस्थापन उपसमिति

१६.स्थानीय समन्वय सहकार्य उपसमिति 

१७.अभिलेखीकरण तथा दस्तावेजीकरण उपसमिति

१८.अनुशासन उपसमिति