काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिमाथि पूर्वराजदूत नीलाम्बर आचार्यले आपत्ति जनाएका छन्।
नेपाल–भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका आचार्यले प्रधानमन्त्रीको भनाइले नागरिकलाई भ्रममा पार्ने काम गरेको बताएका छन्। उनले नेपालले भारतको भूमि सैन्य बल प्रयोग गरेर कब्जा नगरेको स्पष्ट पारे। गाउँलेहरुले सीमा स्तम्भ सार्ने घटना र कुनै देशले सैन्य बल प्रयोग गरेर भूभाग नियन्त्रणमा लिने विषय पूर्ण रूपमा फरक रहेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आचार्यले असहमति जनाएका छन्।
उनका अनुसार केही सीमावर्ती क्षेत्रमा स्थानीय बासिन्दाले सीमा स्तम्भ वरपरका गतिविधि गरेका घटना भए पनि त्यसलाई कालापानी र लिपुलेकजस्ता विवादित क्षेत्रसँग तुलना गर्न नमिल्ने बताए। उनले नेपाल–भारत प्रबुद्ध समूहको छलफलमा सीमा सम्बन्धी विभिन्न विषय उठेको स्वीकार गर्दै कालापानी क्षेत्रको विवादलाई विशेष र संवेदनशील विषयका रूपमा हेर्नुपर्ने धारणा राखे।





































