काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामान्य निमोनियाको संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका प्रचण्डको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार उपचारमा सकारात्मक सुधार देखिएको छ र चिकित्सकहरूको निरन्तर निगरानीमा राखिएको छ। पूर्ण रूपमा स्वास्थ्य लाभ गर्न अझै २ देखि ३ दिन अस्पतालमै बस्नुपर्ने चिकित्सकहरूको सुझाव रहेको छ।
स्वास्थ्य परीक्षणपछि निमोनियाको संक्रमण देखिए पनि अवस्था चिन्ताजनक नरहेको र उपचारले राम्रो प्रतिक्रिया दिइरहेको विज्ञप्ती मार्फत अस्पतालले जनाएको छ। प्रचण्डको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक भएसँगै उनका समर्थक तथा शुभेच्छुकहरूले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।





































