काठमाडौं— मठमन्दिरमा आगो लगाउने चेतावनीपूर्ण अभिव्यक्ति दिएका जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ स्थायी घर भएका २७ वर्षीय परियारलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसरका एसपी पवन भट्टराईका अनुसार परियारलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको हो।
अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै परियारले ‘मठमन्दिरमा आगो लगाइदिन्छौँ’ भन्ने अभिव्यक्ति दिएका थिए। साथै उनले समान अधिकार सुनिश्चित नभए देशव्यापी विद्रोह गर्ने चेतावनीसमेत दिएका थिए।
दलित समुदायमाथि लामो समयदेखि विभेद हुँदै आएको र ग्रामीण क्षेत्रमा उनीहरूको अवस्था अझै दयनीय रहेको दाबी गर्दै दिएको उनको अभिव्यक्ति विभिन्न युट्युब च्यानलमार्फत सार्वजनिक भएको थियो।
हाल टोखा नगरपालिका–८ बानियाँटारमा बसोबास गर्दै आएका परियारमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।





































