एजेन्सी— संयुक्त राज्य अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)ले चन्द्रमाको दक्षिणी ध्रुवनजिकै दिगो मानव बस्ती स्थापना गर्ने योजनाको रूपरेखा प्रस्तुत गरेको छ।
वासिङ्टनमा रहेको आफ्नो मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा नासाका अधिकारीहरूले चन्द्रमा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधिहरूलाई सहयोग गर्न चन्द्र पूर्वाधारको विकासका लागि एजेन्सीको रणनीति कार्य योजना प्रस्तुत गरेका हुन्।
नासाका अनुसार चन्द्र आधार योजनालाई तीन चरणमा विकास गरिनेछ।
सन् २०२९ सम्म चल्ने पहिलो चरण रोबोटिक अन्वेषण र प्रविधि प्रदर्शनमा केन्द्रित छ। दोस्रो चरण, सन् २०२९ देखि २०३२ सम्म, प्रारम्भिक आवास प्रणाली, साथै बिजुली र सञ्चार पूर्वाधारमा केन्द्रित रहने जनाइको छ।
यसैगरी सन् २०३२ पछि सुरु हुने, तेस्रो चरणमा चन्द्रमामा दिगो मानव उपस्थिति स्थापना गर्ने र चन्द्र संसाधनहरूको उपयोगका लागि उन्नत प्रविधिहरू स्थापना गर्ने लक्ष्य रहेको जनाइएको छ।
नासाले चन्द्रमाको दक्षिणी ध्रुवलाई यसको सूर्यको प्रकाशको विस्तारित अवधिको कारण लक्षित क्षेत्रका रूपमा चयन गरिएको जनाएको छ, जुन सौर्य ऊर्जा उत्पादनका लागि अनुकूल छ।
चन्द्रमाको सबै भन्दा पुरानो भूभागनजिकै अवस्थित रहेकाले यो क्षेत्र उच्च वैज्ञानिक चासोको विषय भएको पनि बताइएको छ।
नासाका अनुसार यस क्षेत्रका नमूनाहरूले चन्द्र र पृथ्वी(चन्द्र प्रणालीको प्रारम्भिक इतिहास, साथै सौर्यमण्डलको विकासबारे नयाँ अन्तरदृष्टि प्रदान गर्न सक्छ।
नासाले यस क्षेत्रले विज्ञान, प्रविधि प्रदर्शन र अन्वेषण, भविष्यका गहिरो अन्तरिक्ष मिसनहरूका लागि उन्नत प्रविधि केन्द्रका रूपमा काम गर्ने बताएको छ।
नासाले यस क्षेत्रमा सम्बन्धित पूर्वाधारको विकासमा व्यावसायिक साझेदार र अन्तर्राष्ट्रिय सहयोगीहरूले प्रमुख भूमिका खेल्ने बताएको छ।





































