काठमाडौं— पर्सा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार सोमबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिएको हो ।

प्रहरीले जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट प्रसाईंलाई पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन राय दिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा प्रसाईंका विभिन्न युट्युब अन्तर्वार्ता तथा सार्वजनिक अभिव्यक्तिलाई आधार बनाइएको छ । ती अभिव्यक्तिमा उनले महिलामाथि अपशब्द प्रयोग गरेको, सेना तथा प्रहरीजस्ता राज्यका निकायबारे टिप्पणी गरेको तथा प्रधानमन्त्री बालेन्द्र शाह, रवि लामिछाने, कुलमान घिसिङ र हर्क सम्पाङलगायत व्यक्तिबारे विभिन्न दाबी गरेको उल्लेख गरिएको छ ।

प्रसाईं वीरगन्ज बजारस्थित गहवा माई मन्दिर दर्शन गर्न तथा त्यहाँ संरचना भत्काइएका स्थानीयलाई सम्बोधन गर्न भन्दै पर्सा पुगेका थिए । यसैबीच, सर्वोच्च अदालतले प्रसाईंलाई सोमबारसम्म हिरासत मुक्त गर्न आदेश दिएको छ ।