काठमाडौं—  नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउबा र उनकी पत्नी आरजु राणा देउबा विरुद्ध जारी गरिएको पक्राउ पुर्जी बदरको मागसहित दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट पहिलो नम्बरमा पेसीमा राखिएको छ। यसअघि गत ५ जेठमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशसम्बन्धी छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। तर निवेदक पक्षले भने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा हेर्ने अधिकार विशेष अदालतलाई मात्र हुने जिकिर गर्दै जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जी कानुनसम्मत नभएको दाबी गरेको छ। सोही विषयलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको हो।