नयाँदिल्ली— दक्षिण भारतमा देखिएको तीव्र लु (तापलहर) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार पुष्टि गरेका छन्। देशका विभिन्न भागमा फैलिएको यो गर्मीको लहरपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ।

भारतमा गर्मी सामान्य मौसमी अवस्था भए पनि जलवायु परिवर्तनका कारण यस्ता लुहरू पहिलेभन्दा बढी लामो समयसम्म चल्ने, बारम्बार दोहोरिने र अझ तीव्र हुने वैज्ञानिक अध्ययनहरूले देखाएका छन्। करिब १ अर्ब ४० करोड जनसङ्ख्या भएको भारतका विभिन्न शहरहरूमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन प्रभावित बनेको छ।

सबैभन्दा धेरै मृत्यु तेलङ्गाना राज्यमा दर्ता भएको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीले शरीरमा पानीको कमी गराउँछ, जसले रगत बाक्लो हुने र गम्भीर अवस्थामा अंगहरू निष्क्रिय हुने जोखिम बढाउँछ।

स्थानीय प्रशासनले वृद्ध, बालबालिका र गर्भवती महिलालाई अत्यावश्यक नभएसम्म दिनको समयमा बाहिर ननिस्कन अनुरोध गरेको छ।

यसैबीच, भारतीय मौसम विभागले देशका धेरै भागमा अझै उच्च तापक्रम र लु जारी रहने चेतावनी दिएको छ। राजधानी नयाँदिल्लीसहित आसपासका क्षेत्रमा यस हप्ता लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले विद्युत मागलाई रेकर्ड स्तरमा पुर्‍याएको छ।