देवेन्द्र के ढुङगाना :मणिपुरमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका हवल्दार सोइबम संजित सिंहको परिवारलाई १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। मणिपुर गृह विभागले उक्त सहयोगकल्याणकारी योजना पुलिस तलब प्याकेज अन्तर्गत उपलब्ध गराएको हो।

सिंह जुलाई २०२५ मा इम्फाल पश्चिम जिल्लाको सगोलतोङ्बामा ड्युटीका क्रममा मारिएका थिए। उनलाई प्रदान गरिएको सहायता अक्टोबर २०२४ मा मणिपुर पुलिस र भारतीय स्टेट बैंक (एसबीआई) बीच भएको समझदारी पत्र (एमओयू) अनुसारको कल्याणकारी योजनाअन्तर्गत हो।

मणिपुर पुलिसले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै स्वर्गीय सिंहले इमानदारी, समर्पण र जनताप्रति उच्च प्रतिबद्धताका साथ सेवा गरेको उल्लेख गरेको छ। उनको निधन पुलिस संगठन र समाजका लागि अपूरणीय क्षति भएको पनि बताइएको छ।

इम्फाल पश्चिमस्थित पुलिस अधीक्षकको कार्यालयमा आयोजित कार्यक्रममा उनकी श्रीमतीलाई १ करोड रुपैयाँको चेक औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा अतिरिक्त पुलिस महानिदेशक (एल एन्ड ओ) एल. कैलुन, आईपीएस लगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

पुलिस तलब प्याकेज अन्तर्गत कर्मचारीहरूलाई १ करोड रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा र १० लाख रुपैयाँसम्मको जीवन बीमा सुविधा उपलब्ध छ। साथै, विभिन्न बैंकिङ सेवाहरू पनि यस योजनामा समावेश छन्।

मणिपुर पुलिसले मृतक कर्मचारीका परिवारलाई समयमै सहयोग उपलब्ध गराएकोमा एसबीआईप्रति आभार व्यक्त गर्दै पुलिस कर्मचारीहरूको कल्याणमा प्रतिबद्ध रहने दोहोर्‍याएको छ।