काठमाडौं— राजधानीका नदीकिनार र सार्वजनिक जमिनमा बनेका बस्ती हटाउने अभियान शनिबार थप तीव्र बन्यो। काठमाडौं महानगरपालिकाले थापाथली, गैरीगाउँ–सिनामङ्गल र शान्तिनगर क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउँदै ती क्षेत्र खाली गराएको छ।

महानगर प्रहरी बलको अगुवाइमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली दिनभर खटिएको थियो। प्रभावित बासिन्दालाई सरसामान सार्न सहयोग गरेपछि मात्रै डोजर प्रयोग गरिएको जनाइएको छ। केही स्थानमा पक्की घर धेरै भएकाले काम रातिसम्म लम्बिएको थियो।

बस्ती हटाइएपछि ती क्षेत्रमा भग्नावशेष छरिएका कारण आवागमनमा समस्या देखिएको स्थानीयको गुनासो छ। महानगरले क्रमशः सफाइ र व्यवस्थापन गरिने जनाएको छ।

उपत्यका विकास प्राधिकरणका अनुसार ती क्षेत्रहरूमा सयौँ सुकुमवासी परिवार बसोबास गर्दै आएका थिए। अहिले बस्ती हटे पनि ती परिवारको पुनःस्थापनाबारे स्पष्ट योजना नआएको भन्दै विभिन्न पक्षबाट चासो व्यक्त हुन थालेको छ।

सरकारले सार्वजनिक जग्गा संरक्षण र नदी किनार व्यवस्थापनलाई प्राथमिकता दिएको भए पनि दीर्घकालीन समाधानका रूपमा वैकल्पिक बसोबासको व्यवस्था अपरिहार्य देखिएको छ।

यसै क्रममा भक्तपुरको मनोहरा क्षेत्रमा भने अवरोध र झडप भएको छ, जहाँ सुरक्षाकर्मीमाथि ढुंगा प्रहार हुँदा २२ जना घाइते भएका छन्।