सुर्खेत— कर्णालीका कतिपय स्थानीय तहले सरकारले दिएको हप्तामा दुई दिन बिदा नगर्ने निर्णय गरेका छन् । संविधानले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहको अधिकार सूचीमा रहेको भन्दै आइतबार बिदा नदिने निर्णय गरेका हुन् । नेपालको संविधान र प्रचलित कानुनअनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएको भन्दै आफ्नो नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यालय भर्ना तथा सञ्चालन गर्ने निर्णय गरेको पालिकाका जनप्रतिनिधिको भनाइ छ ।
मुगुको छायानाथ रारा नगरपालिका, डोल्पाको मुड्के चुला, शे फोक्सुन्डो गाउँपालिका गाउँपालिका र सानी भेरी नगरपालिका, जुम्लाको कनक सुन्दरी, सिञ्जा र तातोपानी गाउँपालिकालगायतका स्थानीय तहले आइतबार बिदा नदिने निर्णय गरेका छन् । ‘सरकारले थप गरेको आइतबार विदाले पाठ्य भार पुरा गर्न नसकिने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय भएको हो’ छायानाथ रारा नगरपालिका शिक्षा शाखा प्रमुख विकले भने, ‘नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यालय भर्ना तथा सञ्चालन गर्ने भएका छौ ।’
डोल्पाको मुड्के चुला गाउँपालिकाको ३ वैशाखमा बसेको गाउँ शिक्षा समितिको बैठकले सरकारको गरेको निर्णय लागू गर्न नसकिने निर्णय गरेको छ । हिमाली जिल्लामा चिसोका कारणले पाठ्य भार पूरा गर्न नसकिने भन्दै आइतबार बिदाको निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख गोपाल बुढाले बताए । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाले वैशाख १५ गतेसम्म भर्ना अभियान र १६ गतेबाट पठनपाठन सुरु गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशराज जैसीले बताए ।
डोल्पाको ठुली भेरी नगरपालिकाले पनि सरकारको निर्णय कार्यान्वयन नगरी पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ । नगरपालिकाको शिक्षा समितिले पालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, निजी तथा धार्मिक विद्यालयहरूमा पनि पठनपाठन सुचारु हुने जनाएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँका अनुसार पालिकाभित्रका २९ वटै सामुदायिक विद्यालय वैशाख १५ गतेदेखि पूर्ण रूपमा सञ्चालन गरिने छ । सिँजा गाउँपालिकाले वैशाख ८ गतेदेखि पालिकाभित्रका सबै विद्यालयमा नियमित पठनपाठन सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
नेपाल सरकारले शैक्षिक सत्र २०८३ का लागि वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरे पनि यहाँका कनक सुन्दरी, सिञ्जा र तातोपानी गाउँपालिकाले भने आफ्नै शैक्षिक क्यालेन्डरअनुसार शैक्षिक सत्र कार्यक्रम सुरु गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १२ गतेको बैठकले शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।




































