किभ— युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले इरानमा जारी युद्धका कारण युक्रेनमा रुसी आक्रमकता ओझेलमा परेको बताएका छन् । इरान युद्ध अन्त्य नभएसम्म युक्रेनमा जारी लडाई अन्त्य गर्ने प्रयास फेरि थाल्न सकिँदैन भनेर सोच्नु नै ठुलो खतरा हुने उनले बताएका छन् ।

सीएनएनकी क्रिष्टिन अमनपुरलाई दिएको अन्तर्वार्तामा किभस्थित राष्ट्रपति कार्यालयबाट बोल्दै उनले अमेरिकासँग प्राविधिक तहमा वार्ता भइरहेको भए पनि इरानको मामिला नटुङ्गिएसम्म उच्चस्तरीय भेटघाटको अवसर नदेखिएको उल्लेख गरे ।

इरान र युक्रेनका विषयमा एउटै अमेरिकी वार्ता टोली सक्रिय हुनु पनि चुनौती भएको जेलेन्स्कीले बताए । उक्त टोलीको नेतृत्व स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले गरिरहेका छन् । अमेरिका अहिले इरान युद्धमा केन्द्रित भए पनि युक्रेनलाई बेवास्ता गर्न नहुने उनले बताए ।

‘युक्रेन पछि हेर्ने विषय होइन, यो पहिले नै ठुलो त्रासदी  बनिसकेको छ, यी दुबैलाई एकै पटक व्यवस्थापन गर्ने तरिका हामीले खोज्नुपर्छ,’ उनले भने । जेलेन्स्कीका अनुसार युद्धका कारण आवश्यक हतियार आपूर्तिमा पनि समस्या आएको छ । विशेष गरी एन्टी ब्यालेस्टिक मिसाइलको अभाव देखिएको उनले बताए । सीमित उत्पादन क्षमताका कारण अमेरिकाबाट पर्याप्त आपूर्ति हुन नसकेको उनले बताए ।

यसैबिच युरोपेली सङ्घ (ईयू) ले युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत गरेको छ, जसलाई जेलेन्स्कीले जीवन र अस्तित्वको प्रश्न भनेका छन् । हंगेरीका पूर्वप्रधानमन्त्री भिक्टर अर्बनले युक्रेनमार्फत रुसी तेल आपूर्ति पुनः सुरु गर्नुपर्ने माग गर्दै अवरोध गरेपछि लामो समयदेखि यो ऋण रोकिएको थियो ।

अब भने डुज्बा पाइपलाइन मार्फत तेल आपूर्ति पुनः सुरु भएपछि अवरोध हटेको छ र ऋण प्रक्रियाले गति लिएको छ । पर्याप्त वित्तीय स्रोतको अभावमा युक्रेनले उत्पादन गर्न सक्ने हतियारसमेत पूरा रूपमा उत्पादन गर्न नसकेको जेलेन्स्कीले बताएका छन् ।