काठमाडौं— उत्तर कोरियाले ‘क्लस्टर वारहेड’ (झुप्पा बम) जडित उन्नत रणनीतिक ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको पुष्टि गरेको छ । उक्त सैन्य अभ्यासको सर्वोच्च नेता किम जोङ उनले प्रत्यक्ष अवलोकन गरेका थिए । उत्तर कोरियाको सरकारी सञ्चार माध्यम (केसीएनए) लाई उद्धृत गर्दै क्योडो न्यूजले जनाएअनुसार, आइतबार गरिएको परीक्षणमा पाँचवटा ‘हवासोङ्फो–११ जमिनबाट जमिनमा प्रहार गर्ने रणनीतिक ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरिएको थियो । ती मिसाइलहरूले १३६ किलोमिटर टाढा रहेको निर्धारित लक्ष्यमा सटिक प्रहार गरेका थिए ।
उत्तर कोरियाको यो सैन्य गतिविधिलाई छिमेकी मुलुकहरूले नजिकबाट नियालेका छन् । प्योङयाङले यी मिसाइलहरू जमिनबाट प्रहार गरिएको बताए पनि जापान र दक्षिण कोरियाका अधिकारीहरूले भने ती मिसाइलहरू सिनपो क्षेत्रबाट प्रहार गरिएको र तटीय स्थानका कारण ती पनडुब्बीबाट प्रहार गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार यस परीक्षणको मुख्य उद्देश्य रणनीतिक ब्यालिस्टिक मिसाइलमा प्रयोग गरिने क्लस्टर बम र फ्र्याग्मेन्टेसन माइन वारहेडको शक्ति र विशेषता प्रमाणित गर्नु थियो । निरीक्षणका क्रममा नेता किमले आफ्ना वैज्ञानिकहरूको प्राविधिक प्रगतिको प्रशंसा गर्दै विभिन्न प्रकारका क्लस्टर वारहेडहरूको विकासले सेनाको आक्रमण क्षमतालाई अझ उच्च र सघन बनाउने विश्वास व्यक्त गरे ।
हाल उत्तर कोरियाले हाइपरसोनिक मिसाइल, बहु–वारहेड न्युक्लियर मिसाइल र अत्याधुनिक पनडुब्बी हतियारहरू विकास गर्ने रणनीति लिएको छ । यी प्रविधिहरूको विकासलाई अमेरिका र दक्षिण कोरियाको मिसाइल प्रतिरक्षा प्रणालीलाई विफल पार्ने प्रयासको रूपमा हेरिएको छ ।






































