काठमाडौं— जलवायु न्यायको पक्षमा सक्रिय विज्ञ टोलीले सोलुखुम्बुको खुम्बुपासाङल्यामु गाउँपालिका–स्थित खुम्जुङ (समुन्द्र सतहबाट ३७९० मिटर) पुगेर स्थानीयसँग प्रत्यक्ष अन्तरसंवाद गरेको छ ।
शनिबार आयोजित उक्त कार्यक्रममा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव, स्थानीयले भोगिरहेका चुनौती तथा सम्भावित समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रम जलवायु न्यायका क्षेत्रमा क्रियाशील संस्था ‘साथसाथै’ र गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा पूर्व उपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा राणाले हिमाली आदिवासी समुदायले भोगिरहेको समस्या विशेष प्राथमिकतामा राख्नुपर्ने बताइन् । उनले महिलामा देखिएका प्रजनन स्वास्थ्य समस्या, खाद्यान्न अभाव र आर्थिक आत्मनिर्भरता जस्ता विषयमा स्थानीय तथा संघीय सरकारले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।
‘साथसाथै’ संस्थाका अध्यक्ष प्रजिता कार्कीले हिमाल केवल पर्यटकीय आकर्षण मात्र नभई स्थानीय समुदायको जीवन, पहिचान र अस्तित्वसँग जोडिएको विषय भएको उल्लेख गरिन् । उनले हिमाल संरक्षणमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याइन् ।
हिमनदी विज्ञ अरुणभक्त श्रेष्ठले खुम्बु क्षेत्रमा जलवायु परिवर्तनको असर प्रत्यक्ष अनुभूति गर्न पाएको उल्लेख गर्दै पानीका मुहान संरक्षण र विपद् पूर्वसूचना प्रणाली स्थापना गर्नुपर्ने सुझाव दिए ।
नवीकरणीय ऊर्जाका अनुसन्धानकर्ता कुशल गुरुले दाउरा र ग्यासको बढ्दो प्रयोगले वातावरणमा असर पार्ने भएकाले सौर्य तथा विद्युतीय ऊर्जाको विकल्प विस्तार गर्नुपर्ने धारणा राखे ।
लैंगिक विज्ञ समा श्रेष्ठले जलवायु नीति तथा योजना निर्माणमा महिलाको सहभागिता अनिवार्य हुनुपर्ने र उनीहरूलाई प्रविधिमैत्री तालिम आवश्यक रहेको बताइन् । वरिष्ठ पत्रकार बबिता बस्नेतले जलवायु परिवर्तनको प्रभाव महिला, बालबालिका र विपन्न वर्गमा गहिरो रूपमा परेको उल्लेख गर्दै यस्ता विषयमा ग्रामीण तहमा पुगेर अध्ययन र संवाद बढाउन सरकारलाई आग्रह गरिन् ।
सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख सुष्मा राणाले जलवायु प्रभाव न्यूनीकरणका लागि सौर्य तथा वायु ऊर्जाको उपयोग खुम्बु क्षेत्रमा उपयुक्त हुने बताइन् । पत्रकार बालकृष्ण बस्नेतले खुम्बु क्षेत्रका मुद्दालाई स्थानीय सीमाभन्दा माथि उठाएर प्रदेश, संघीय तथा अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला तथा युवा समूहले पर्यटन, कृषि, स्वास्थ्य र दैनिक जीवनसँग सम्बन्धित समस्याबारे आफ्ना धारणा राख्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । खुम्बुपासाङल्यामु गाउँपालिका–४ की वडा सदस्य ङिमा यान्जी शेर्पासहित स्थानीय बासिन्दाले सक्रिय सहभागिता जनाउँदै विभिन्न जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए ।
विश्व पृथ्वी दिवसको पूर्वसन्ध्यामा ‘हिमाल जोगाउने अभियान’ अन्तर्गत उक्त टोली खुम्जुङ पुगेको हो । टोलीले वैशाख ९ गते गोक्यो क्षेत्रमा ‘गोक्यो घोषणापत्र’ जारी गर्ने तयारी गरेको जनाएको छ ।






































