एजेन्सी— यस वर्षको पहिलो तीन महिनामा चीनको अर्थतन्त्र अपेक्षा गरिएको भन्दा तीव्र गतिमा बढेको छ। इरानसँग अमेरिका–इजरायलको युद्धका कारण विश्व नै प्रभावित भए पनि चीनको अर्थतन्त्रमा ठूलो असर नदेखिएको बीबीसीले जनाएको छ।
आधिकारिक तथ्यांकअनुसार गत वर्षको तुलनामा यस अवधिमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५ प्रतिशतले वृद्धि भएको छ। अर्थशास्त्रीहरूले यो वृद्धि दर ४.८ प्रतिशतको हाराहारीमा रहने अनुमान गरेका थिए।
फेब्रुअरी २८ देखि सुरु भएको मध्यपूर्वको द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर अवरोध पुर्याएको र एसियाली मुलुकलाई बढी असर पारेको भए तापनि चीनको अर्थतन्त्रमा वृद्धि देखिएको हो।
बेइजिङले गत महिना आफ्नो वार्षिक आर्थिक वृद्धिको लक्ष्यलाई घटाएर ४.५ प्रतिशतदेखि ५ प्रतिशतको दायरामा पुर्याएपछिको यो पहिलो आधिकारिक तथ्यांक हो। यो सन् १९९१ पछिको सबैभन्दा न्यून वृद्धिको लक्ष्य थियो।
अघिल्लो त्रैमासिकको ४.५ प्रतिशतको कमजोर विस्तारमा आएको यो सुधार मुख्यतया उत्पादन क्षेत्रका कारण सम्भव भएको बीबीसीले जनाएको छ। जबकी विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन अझै पनि घरजग्गा क्षेत्रको लगानीमा आएको गिरावटका कारण भने दबाबमै छ।
बुकिङ्स इन्स्टिच्युसनका विश्लेषक काइल च्यानका अनुसार तथ्यांकमा कार र अन्य सामग्रीको निर्यात ‘प्रमुख सकारात्मक पक्ष’का रूपमा देखिएका छन्।
‘इरान युद्धको पूर्ण प्रभाव अझै देखिन बाँकी छ’ च्यानलाई उदृत गर्दै बीबीसीले लेखेको छ। युद्धका कारण व्यापारमा आएको अवरोधले गर्दा अर्को त्रैमासिकको जीडीपीको तथ्यांक केही कमजोर हुने सम्भावना छ।





































