काठमाडौं— पाकिस्तानले अमेरिका र इरानलाई युद्धविरामप्रतिको प्रतिबद्धता कायम राख्न र दिगो शान्ति हासिल गर्ने प्रयास जारी राख्न आग्रह गरेको छ।

‘पाकिस्तानका तर्फबाट युद्धविराम कायम गर्न र मध्यस्थकर्ताको भूमिकामा पाकिस्तानका प्रयासहरूको कदर गरेकोमा म दुवै पक्षप्रति आभार व्यक्त गर्न चाहन्छु। हामी आशा गर्छौँ कि दुवै पक्षले सकारात्मक भावना कायम राख्दै सम्पूर्ण क्षेत्र र त्यसपछिका लागि दिगो शान्ति र समृद्धि हासिल गर्न प्रयास जारी राख्नेछन्,’ पाकिस्तानका परराष्ट्रमन्त्री इसाक दारको भनाइ उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि थालिएको युद्ध मध्यपूर्वभर फैलिएको थियो। त्यसको प्रत्युत्तरमा तेहरानले इजरायल र अमेरिकी सैन्य उपस्थितिका आधार रहेका छिमेकी खाडी मुलुकमा आक्रमण गरेको थियो।

अमेरिका–इजरायलको आक्रमणबाट इरानमा दुई हजारभन्दा बढी मानिसको ज्यान गएको छ र सैन्य तथा नागरिक संरचनामा क्षति पुगेको छ।

यस युद्धले विश्वव्यापी ऊर्जा संकट पनि निम्त्यायो किनभने इरानले हर्मुज जल क्षेत्रमा नियन्त्रण कडा बनाएपछि विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति प्रभावित भएको थियो।

उपराष्ट्रपति भान्स नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल र संसद्का सभामुख मोहम्मद बाघेर कालिबाफ नेतृत्वको इरानी प्रतिनिधिमण्डलबीच गहिरा मतभेद र लेबनानमा हेजबोल्लाह समूहविरुद्ध इजरायलका निरन्तर आक्रमणका कारण जोखिममा परेको युद्धविरामलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको थियो।

शनिबार अपराह्नदेखि आइतबार बिहानसम्म दुई चरणमा छलफल भएको थियो। अमेरिका र इरान युद्ध अन्त्य गर्ने विषयमा सहमति गर्न असफल भएका छन्। वार्ता टुंगिए पनि युद्धविराम जोखिममा परेको छ।

‘हामीले कुनै सहमति गर्न सकेनौँ। मेरो विचारमा यो संयुक्त राज्य अमेरिकाका लागि भन्दा इरानका लागि धेरै खराब खबर हो,’ अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख तथा उपराष्ट्रपति जेडी भान्सले इस्लामाबाद छोड्नुअघि पत्रकारहरूसँग भने।

त्यसैले कुनै सहमतिमा नपुगी अमेरिका फर्किन लागेको उनको भनाइ छ। इरानी टोली पनि पाकिस्तानबाट फिर्ता हुन लागेका छन्। भान्सले इरानले अमेरिकाले प्रस्ताव गरेका सर्तहरू स्वीकार नगरेको बताएका छन्। उनले भने, ‘ हामीलाई उनीहरूले आणविक हतियार नखोज्ने र त्यस्तो हतियार छिट्टै बनाउन सक्ने साधनहरू पनि नखोज्ने भन्ने स्पष्ट प्रतिबद्धता चाहिन्छ। यही संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको मुख्य लक्ष्य हो र यही लक्ष्य हामीले यी वार्तामार्फत हासिल गर्न खोजेका थियौँ।’

यस साताको प्रारम्भमा भएको युद्धविरामपछि इस्लामाबादमा भएको वार्ता एक दशकभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष अमेरिका–इरान बैठक थियो। यसलाई सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा उच्चस्तरीय संवाद पनि भनिएको छ।

इरानको अर्ध-सरकारी समाचार संस्था तसनिले अत्यधिक अमेरिकी मागहरूले सहमति हुनबाट अवरोध सिर्जना गरेको जनाएको छ। अन्य इरानी सञ्चारमाध्यमले केही मुद्दामा सहमति भएको भए पनि हर्मुज जल क्षेत्र र इरानको आणविक कार्यक्रम मुख्य विवादका विषय रहेको उल्लेख गरेका छन्।