काठमाडौं— पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ ।
पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए ।
पूर्वमन्त्री खड्का सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि आइतबार पक्राउ परेका थिए ।
एमालेको लुम्बिनी प्रदेश सांसद शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिका विरूद्धको कसुर गरेको आरोप छ ।
केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो ।
ती बालिकाबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले २९ माघ २०८१ मा आफ्नो फेसबुक वालमा ‘सरी नानु तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनू ! समय आउनेछ भनेर लेखेका थिए ।
साथै उनले ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नुपर्छ’ भन्ने पनि उल्लेख गरेका थिए ।






































