काठमाडौं— इण्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) विजयी भएको छ ।
शनिबार बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा आरसीबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ ।
हैदराबादले दिएको २०२ रनको लक्ष्य बेंगलुरुले १५ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
बेंगलुरुको जितमा विराट कोहलीले अविजित रहँदै सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेलेका हुन् । उनले ३८ बलको सामना गरेर ५ चौका र ५ छक्का प्रहार गरेका छन् । देवदत्त पडीकल २६ बलमा ६१ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । कप्तान रजत पाटीदार ३१ रनमा आउट हुँदा टिम डेबिड १६ रनमा अविजित रहेका हुन् ।
त्यसअघि टस जितेर घरेलु टोलीले बलिङ रोजेपछि ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०१ रनको योगफल तयार गरेको थियो ।
प्रतियोगिता अन्तरगत आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच राति पौने ८ बजे वान्खडेमा सुरु हुनेछ ।






































