हेटौँडा— मकवानपुरमा सञ्चालन भइरहेको महोत्सवमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले कलाकारमाथि बियरको बोतल तथा ढुङ्गा प्रहार गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ ।
चैत १३ गते आयोजित चर्चित गायक (सेन्ट म्यान)को कन्सर्टका क्रममा एक युवकले स्टेजतर्फ बियरको बोतल प्रहार गरेको घटना सार्वजनिक भएको थियो । उक्त घटनापछि आयोजक र प्रहरीको समन्वयमा सिसिटिभी फुटेजको आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानका क्रममा अन्दाजी २१ वर्षीय शक्ति भोलनलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका भोलनले आफूलाई कलाकार मन नपरेको कारण आवेगमा आएर बियरको बोतल तथा ढुङ्गा प्रहार गरेको बयान दिएका छन् ।
घटनापछि महोत्सव स्थलमा थप सुरक्षा सतर्कता अपनाइएको छ भने यस्ता अवाञ्छित गतिविधि दोहोरिन नदिन प्रशासनले कडाइ गर्ने जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।






































