रामेछाप— रामेछाप जिल्लाको दोम्बा शैलुङ गाउँपालिका–४ मा आफ्नै ज्वाइँको हत्या गरी फरार रहेका एक वृद्धालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार हिजो सोमबार ससुरालीमा कोसेली लिएर पुगेका ज्वाइँ प्रेमबहादुर तामाङलाई बाटोमा हिँड्दै गरेका बेला ६० वर्षीय ससुरा वीरबहादुर तामाङले प्रहार गर्दा उनको मृत्यु भएको हो ।

घटनापछि फरार रहेका वीरबहादुरलाई मंगलबार बिहान करिब ७ः३० बजे सोही वडाको खारपानी भन्ने स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख भोला कुमार भट्टले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा ठूलो विवाद नदेखिएको प्रहरीले जनाएको छ । ‘ससुरालीमा दाजुभाइबीच सामान्य पारिवारिक विवाद रहेको र कसको घरमा जाने, कसकोमा नजाने भन्ने विषयमा झगडा हुँदा ससुराले सामान्य तरिकाले हातैले प्रहार गर्दा ज्वाइँको ज्यान गएको देखिन्छ,’ डीएसपी भट्टले भने ।

प्रहरीका अनुसार ज्यान मार्ने स्पष्ट नियत नदेखिए पनि घटनामा प्रेमबहादुरको मृत्यु भएको छ । पक्राउ परेका वीरबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।