कञ्चनपुर— कञ्चनपुरमा ७५ वर्षीय आमाहत्याका आरोपी गर्ने ५५ वर्षीय हरिप्रसाद श्रेष्ठमाथि सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।
दोधारा चाँदनी नगरपालिका–४ स्थित माननिय चोकमा छुट्टै घरमा छोरी सँगै बस्दै आएकी ७५ वर्षीय कान्छी आमा बिन्द्राको हत्याको आरोपी हरिप्रसादमाथि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको हो ।
गत मङ्गलबार हँसिया प्रहारबाट बिन्द्राको घटनास्थलमै ज्यान गएको थियो भने, उनका ५० वर्षीय छोरी भगवती देवी माझी गम्भिर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीका अनुसार, कान्छी आमाको हत्या गरेर श्रेष्ठ फरार भएका छन् ।
मृतकका नातिनी सारिका कुमारी मालीको जाहेरीका आधारमा दोस्रो दिन राति नेपाल भारत सीमा स्थित दोधारा चादनी नगरपालिका–८ सुन्दरनगर टोलबाट भाग्दै गरेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खत्रीले बताए। पक्राउ गरिएका श्रेष्ठमाथि जिल्ला अदालत कञ्चनपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी खत्रीले जानकारी दिए।
उनका अनुसार घटनास्थलबाट धारिलो हतियार हँसिया बरामद गरिएको छ, भने घटनाको विषयमा प्रत्यक्षदर्शीहरू सँग सोधपुछ तथा श्रेष्ठको बयान लिने कार्य भइरहेको छ । मृतकको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ । यसै गरी, हँसिया प्रहारबाट गम्भीर घाइते हुनुभएका ५० वर्षीय माझीको भारतको भोजिपुरामा थप उपचार भइरहेको छ ।
श्रेष्ठ हत्या प्रकरणको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक कृष्ण सोनीलाई अनुसन्धान अधिकृत तोकिएको प्रहरी उपरीक्षक खत्रीको भनाइ छ ।






































