सुर्खेत— जवरजस्तीकरणीबाट बालिका गर्भवती बनाएको आरोपमा कालिकोटमा एक जना पक्राउ परेका छन् । रास्कोट नगरपालिका–१ की १३ बर्षिया बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय एक जनालाई पक्राउ गरेको जनाएको छ ।

साथीलाई भेट्न उनकै घरमा गएको समयमा साथीको बुवाबाट बलात्कार भएको भन्दै १३ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन ।

बलात्कारमा परेकी बालिकाको महिनावारी रोकिए पछि फुपूले सोधी खोजी गर्दा बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन् । त्यसपछि उक्त घटना प्रहरीको कार्यालयमा पुगेको हो । गत माघ १४ गते साथीको घरमा बसेकी बालिकालाई साथीको बुबाले आफूलाई बलात्कार गरेको ती बालिकाले बताएकी छन् ।

रास्कोट–१ का ५३ वर्षीय बलबहादुर सार्कीले आफूलाई बलात्कार गरेको बालिकाको आरोप छ । ‘साथीको घरमा गएको बेला साथीसँगै सुतिरहेको अवस्थामा साथीको बुवाले जवरजस्तीकरणी गरे,’ उनले जाहेरीमा उल्लेख गरेकी छन्, ‘माघ १३ गते राती र १४ गते बिहान बलात्कार गरी घटना कसलाई नभन्न र भने पछि मारिदिने धम्की दिए ।’

घर बाहिर निस्केर ५०० रुपैयाँ पनि अभियुक्तले दिएको ती बालिकाको जाहेरीमा उल्लेख छ ।

गत माघ १३ गते छोरीसँग घरमा आएकी छोरीकी साथीलाई ललाइफकाइ बलात्कार गरेर गर्भवती बनाएको जाहेरी परेपछि सार्कीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले जानकारी दिए ।