काठमाडौं— दुबई अन्तर्राष्ट्रिय विमानस्थल सोमबार बिहान अस्थायी रूपमा बन्द गरिएको छ। विमानस्थल नजिकै भएको ड्रोन आक्रमणपछि यात्रु तथा कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै उडान सेवा स्थगित गरिएको हो।

ड्रोन प्रहारका कारण नजिकै रहेको इन्धन ट्याङ्कीमा भीषण आगलागी भएको बताइएको छ। ठूलो आवाजसँगै आगोको ज्वाला देखिएपछि त्यहाँ रहेका यात्रु र कर्मचारीहरूबीच केही समय त्रास फैलिएको थियो।

दुबई नागरिक उड्डयन प्राधिकरणका अनुसार सुरक्षात्मक सावधानीका रूपमा सबै उडानहरू अस्थायी रूपमा निलम्बन गरिएको हो। प्राविधिक तथा सुरक्षा जाँच पूरा भएपछि मात्र उडान सेवा पुनः सञ्चालन गरिने बताइएको छ।

त्यसैगरीदुबई मिडिया कार्यालयले ड्रोन आक्रमणका कारण विमानस्थल नजिकको इन्धन ट्याङ्कीमा क्षति पुगेको पुष्टि गरेको छ। आगलागी भने अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको जनाइएको छ।

घटनाको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन भने आक्रमण किन र कसले गराएको हो भन्नेबारे अनुसन्धान जारी रहेको छ।